कांग्रेस महाधिवेशनमा शुभेच्छुक संस्थालाई पूर्ण अधिकारसहित प्रतिनिधित्व दिन माग
नेपाली कांग्रेसको आगामी महाधिवेशनमा पेशागत तथा शुभेच्छुक संघ–संस्थाका प्रतिनिधिलाई मतदान अधिकार मात्र नभई उम्मेदवारी दिने पूर्ण अधिकारसहित महाधिवेशन प्रतिनिधि बनाउनुपर्ने माग उठेको छ।
नेपाल प्रेस युनियनले आयोजना गरेको बैठकमा लोकतन्त्रप्रति आस्थावान् पेशागत संघ–संस्थाका प्रतिनिधिहरूले कांग्रेसले नीति निर्माण प्रक्रियामा यस्ता संस्थालाई पर्याप्त महत्व नदिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
बैठकमा सहभागीहरूले कांग्रेसलाई लोकतन्त्रको “च्याम्पियन” मानिए पनि व्यवहारमा पेशागत संघ–संस्थालाई ‘थिंक ट्यांक’का रूपमा समावेश नगरिएको आरोप लगाए। उनीहरूले महाधिवेशनमा मतदान अधिकार दिएर उम्मेदवारीबाट वञ्चित गर्ने प्रथा लोकतान्त्रिक नभएको तर्क गरेका छन्।
पेशागत संघ–संस्थाको स्वतन्त्रता प्रवर्द्धन गर्न उम्मेदवारी निषेध गर्ने व्यवस्था खारेज गर्नुपर्ने, साथै बुद्धिजीवीहरूको छुट्टै क्लस्टर बनाएर केन्द्रीय समितिमा प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने माग बैठकले अघि सारेको छ।
आसन्न राष्ट्रिय सभा निर्वाचनलाई अवसरका रूपमा प्रयोग गरी पत्रकार, वकिल, चिकित्सक, प्राध्यापक, इन्जिनियर र शिक्षकलाई उम्मेदवार बनाउन कांग्रेसलाई दबाब दिने निर्णयसमेत बैठकले गरेको छ।
बैठकपछि नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले कांग्रेसले पेशागत विज्ञहरूलाई राष्ट्रिय सभामा प्राथमिकता दिनुपर्ने बताए।
बैठकमा डेमोक्रेटिक लयर्स एसोसिएसन, प्रजातन्त्रवादी चिकित्सक संघ, सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल, प्रजातन्त्रवादी प्राध्यापक संघ र नेपाल शिक्षक संघका नेतृत्वको सहभागिता थियो।
कांग्रेस महाधिवेशन नजिकिँदै गर्दा पेशागत संस्थाहरूको यो मागले पार्टीभित्र नयाँ बहस सुरु हुने देखिएको छ।