ट्रम्पले बीबीसीविरुद्ध मानहानि मुद्दा दायर
१ पुस, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बीबीसीविरुद्ध मानहानिको मुद्दा दायर गरेका छन् । ‘प्यानोरमा’ डकुमेन्ट्रीमा आफ्नो भाषण गलत अर्थ लाग्ने गरी सम्पादन गरिएको दाबी गर्दै उनले फ्लोरिडाको अदालतमा मुद्दा हालेका हुन् ।
अदालतका कागजातअनुसार ट्रम्पले अरबौँ डलर क्षतिपूर्ति माग गरेका छन् । बीबीसीले यसअघि माफी मागे पनि क्षतिपूर्ति दिन अस्वीकार गरेको थियो भने मानहानिको दाबीको आधार नरहेको बताएको छ ।
ट्रम्पको कानुनी टोलीले फरक–फरक समयमा बोलेका अभिव्यक्तिलाई जोडेर भड्काउ रूपमा प्रस्तुत गरिएको आरोप लगाएको छ । उक्त डकुमेन्ट्री अमेरिकी राष्ट्रपति निर्वाचनअघि बीबीसीको ‘प्यानोरमा’ कार्यक्रममा प्रसारण भएको थियो ।
विवाद बढेपछि बीबीसीका निर्देशक जनरल टिम डेभी र हेड अफ न्युज डेबोरा टर्नेसले गत महिना राजीनामा दिएका थिए ।