काभ्रेपलाञ्चोकमा मालवाहक टिपर सञ्चालनमा कडाइ, चार बुँदे निर्णय
काभ्रेपलाञ्चोक – जिल्लाभर सञ्चालन भइरहेको मालवाहक टिपरको ओभरलोड र सडक सुरक्षामा समस्या देखिएपछि जिल्ला प्रशासन कार्यालय धुलिखेलले टिपर सञ्चालनमा कडाइ गर्ने निर्णय गरेको छ।
प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको अध्यक्षतामा बसेको नदीजन्य पदार्थ ढुवानी तथा ट्राफिक व्यवस्थापनसम्बन्धी सरोकारवालाको बैठकले चार बुँदे निर्णय गरेको हो।
निर्णय अनुसार, अब खानी सञ्चालक र टिपर व्यवसायीहरूले ओभरलोड नगरी, पानीसहित निर्माण सामग्री ढुवानी गर्न पाउने छैनन्। साथै, पासअनुमति लिएर अन्यत्र निर्माण सामग्री ढुवानी गर्ने दुरुपयोग रोक्न सम्बन्धित आयोजना प्रमुखले कडाइका साथ व्यवस्था मिलाउनेछन्।
निर्माण सामग्री ढुवानी पास नलिएका टिपरका सम्बन्धमा व्यवसायी सङ्घमार्फत जानकारी गराइनेछ र खानी क्षेत्रका स्थानीय तहका जनप्रतिनिधिद्वारा प्रभावकारी अनुगमन गराइनेछ।
निर्णय कार्यान्वयन नहुने अवस्थामा प्रचलित कानुन अनुसार कारबाही गरिने पनि बैठकले स्पष्ट पारेको छ।
साथै, तोकिएको आयोजनाबाहेकका निर्माण सामग्री ढुवानीका लागि टिपरलाई राति ९ बजेदेखि बिहान ५ बजेसम्म मात्र सञ्चालन अनुमति दिइनेछ।