पाकिस्तानका पूर्वगुप्तचर प्रमुखलाई १४ वर्षको जेल सजाय
पाकिस्तानी सैन्य अदालतले ‘इन्टर–सर्भिस इन्टेलिजेन्स’ का पूर्वप्रमुखलाई राज्यको गोपनीयता उल्लंघन र अख्तियार दुरुपयोगसम्बन्धी अभियोगमा १४ वर्ष कैद सजाय सुनाएको सेनाले बिहीबार जनाएको छ।
जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको कार्यकालमा सेवा गरेका फैज हमिदलाई राजनीतिक गतिविधिमा संलग्न भई व्यक्तिहरूलाई अनुचित क्षति पुर्याएको अभियोगमा दोषी ठहर गरिएको सेनाको विज्ञप्तिमा उल्लेख छ।
सन् २०२३ मा प्रकाशित सर्वोच्च अदालतका कागजातअनुसार, फैज हमिदमाथि शक्तिको दुरुपयोग तथा निजी व्यवसायमा छापा मार्ने जस्ता कार्यका आरोप लगाइएका थिए। गुप्तचर प्रमुखलाई पाकिस्तानी सेनाको दोस्रो सबैभन्दा शक्तिशाली पद मानिन्छ।
लामो कानुनी प्रक्रियापछि सबै अभियोगमा दोषी ठहर गर्दै अदालतले उनलाई १४ वर्ष जेल सजाय निर्धारण गरेको सेनाको विज्ञप्तिमा जनाइएको छ।
विज्ञहरूका अनुसार, फैज हमिद इमरान खानका कट्टर समर्थक थिए। खानले केही शीर्ष नेताहरूको समर्थन गुमाएपछि उनलाई अविश्वास प्रस्तावमार्फत पदच्युत गरिएको थियो।
सेना प्रमुखको प्रतिष्ठित पदका दावेदार मानिने जनरल फैज हमिदले खानले सत्ता गुमाएपछि केही महिनामै प्रारम्भिक सेवानिवृत्ति लिएको बताइन्छ। त्यसपछि उनलाई पाकिस्तानी सेना ऐन उल्लंघन गरेको आरोप पनि लगाइएको थियो।