ट्रस्टको जग्गा लिज प्रकरण : नेपाल ट्रस्टका पूर्वसचिव अर्जुन कार्की पक्राउ
३० कात्तिक, काठमाडौं । नेपाल प्रहरीले नेपाल ट्रस्टका पूर्वसचिव अर्जुन कार्कीलाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले कार्कीलाई आइतबार साँझ पक्राउ गरेको एआईजी मनोज केसीले पुष्टि गरेका छन्।
दरबारमार्गस्थित नेपाल ट्रस्टको जग्गा लिज सम्झौतामा अनियमितता भएको आशंकामा सीआईबीले अनुसन्धान गरिरहेको छ। यसअघि सोही मुद्दामा ट्रस्टका तत्कालीन सचिव लेखबहादुर कार्कीलाई पनि प्रहरीले पक्राउ गरिसकेको छ।
सीआईबीका अनुसार नेपाल ट्रस्टको नाममा दर्ता रहेको काठमाडौंको मूल्यवान् जग्गा बद्नीयतपूर्ण ढङ्गले तथा राज्यलाई हानि–नोक्सान हुने गरी लिज सम्झौता भएको प्रारम्भिक खोजबिनबाट खुलेपछि मुद्दाको गम्भीर छानबिन भइरहेको हो।
अर्जुन कार्कीलाई अब आवश्यक कानुनी प्रकृयाका लागि सीआईबीमा नै राखी अनुसन्धान अघि बढाइएको छ।