माओवादी केन्द्रका विमल अधिकारीद्वारा पार्टी त्याग, वैकल्पिक राजनीतिक अभियान सुरु
काठमाडौं । तत्कालीन नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा कोष–लेखा विभागका उपप्रमुख विमल अधिकारीले पार्टी परित्याग गर्दै वैकल्पिक राजनीतिक धारा निर्माणमा सक्रिय हुने घोषणा गरेका छन्।
विगत १९ वर्षदेखि माओवादी आन्दोलनमा संलग्न रहँदै आएको उल्लेख गरेका अधिकारीले एक विज्ञप्तिमार्फत प्रचण्ड नेतृत्वको माओवादी केन्द्र मूल्य, सिद्धान्त र वैचारिक दिशाबाट पूर्णतः विचलित भएको आरोप लगाएका छन्।
उनका अनुसार पार्टीभित्र नीति–निर्णयको अस्पष्टता, मूल्यहीन गठबन्धनमा निर्भरता र युवापुस्ताको आकांक्षाप्रति बेवास्ता गर्ने प्रवृत्तिले अब संरचनागत सुधार सम्भव छैन।
अधिकारीले प्रचण्ड नेतृत्वको माओवादी केन्द्र, माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी तथा उनीहरूको समायोजनबाट बनेको ‘नेपाली कम्युनिस्ट पार्टी’ मा आफू आबद्ध नरहेको स्पष्ट पारेका छन्।
जेनजी विद्रोहपछि विश्व राजनीतिले दिएको नयाँ चेतना, पारदर्शिता, सिद्धान्त, वैकल्पिक नेतृत्व र प्रगतिशील सोच नेपालको राजनीतिक भविष्यका लागि अत्यावश्यक भएको उल्लेख गर्दै उनले ‘प्रगतिशील राष्ट्रिय अभियान’मार्फत नयाँ वैकल्पिक राजनीतिक धारा निर्माणमा जुट्ने प्रतिबद्धता व्यक्त गरेका छन्।