बारा: जंगली हात्तीको आक्रमणमा ट्रक चालकको मृत्यु, पूर्वपश्चिम राजमार्ग अवरुद्ध
काठमाडौं, २४ कात्तिक – पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको जितपुरसिमरा उपमहानगरपालिका-१६ स्थित पथलैया–निजगढ सडकखण्डमा जंगली हात्तीले आतंक मच्चाउँदा ट्रक चालकको मृत्यु भएको छ।
सोमबार बिहान ८ बजेको समयमा ना४ख १८३० नम्बरको ट्रकमा हात्तीले आक्रमण गरेको थियो। घटनास्थलमा ट्रकबाट हाम्फालेर भाग्ने प्रयासका क्रममा चालक, जितपुरसिमरा-१ का करिब ४० वर्षीय राजकुमार चौधरीको मृत्यु भएको बारा प्रहरीले जनाएको छ।
आइतबार बेलुकादेखि नै उक्त क्षेत्र हात्तीले आतंक मच्चाइरहेको थियो। प्रशासनले पूर्वपश्चिम राजमार्ग प्रयोग गर्ने गाडीहरुलाई वैकल्पिक मार्ग अपनाउन अनुरोध गरेको भए पनि केही चालकले अटेर गर्दा यस्तो दुर्भाग्यपूर्ण घटना भएको हो।
हात्ती धपाउन बारा र चितवनबाट विशेष टोली परिचालन गरिएको थियो। टोली परिचालनपछि सोमबार दिउँसो १२:३० बजेतिर राजमार्गमा गाडी सञ्चालन गर्न अनुमति दिइएको छ।
बाराका प्रहरीले स्थानीयहरूलाई सावधानी अपनाउन र जोखिमयुक्त क्षेत्रमा नजाने आग्रह गरेको छ।