मकवानपुरमा मोटरसाइकल दुर्घटना : दुई जनाको मृत्यु
मकवानपुर । मकवानपुरगढी गाउँपालिका–५ र भीमफेदी गाउँपालिका–१ को सिमानामा पर्ने बुङ्दलखोला पुलमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
मकवानपुर जिल्ला प्रहरी कार्यालयका अनुसार बा.प्र.०३–००५प ७९८० नम्बरको मोटरसाइकल अनियन्त्रित भई करिब ५० फिट तल खस्दा हेटौंडा उपमहानगरपालिका–२ चौकी टोलका ३९ वर्षीय वीरबहादुर गुरुङ (चालक) र पछाडि सवार पूर्वी नवलपरासी, कावासोती–१३ घर भई हाल हेटौँडा–२ बस्ने ३५ वर्षीय चन्द्रबहादुर गुरुङको घटनास्थलमै मृत्यु भएको हो।
मृतकमध्ये दुवै जनाको शव परीक्षणका लागि हेटौँडा अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।