माग पूरा नभएपछि मेलम्चीवासीले काठमाडौँ पथान्तरण हुने पानी गरे बन्द
काठमाडौँ – आफ्ना मागहरू कार्यान्वयन नभएको भन्दै मेलम्ची भेण्डर, बाढीपहिरो पीडित र स्थानीय सरोकार समितिहरूको समूहले काठमाडौँ पथान्तरण गरिँदै आएको मेलम्चीको पानी बन्द गरेका छन्।
मेलम्ची खानेपानी आयोजना अन्तर्गतको मुहान क्षेत्रमा बिहीबार स्थानीयवासीले पानी आपूर्ति रोकिदिएपछि बिहीबार दिउँसोदेखि काठमाडौँमा आउने मेलम्चीको पानी पूर्ण रूपमा बन्द भएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जगरनाथ दासले जानकारी दिए।
उनका अनुसार, गत वर्ष तत्कालीन खानेपानी मन्त्री प्रदीप यादवसँग भएको सम्झौता कार्यान्वयन नभएकाले स्थानीयले मुहान बन्द गरेका हुन्। विसं २०७८ सालको बाढीपहिरोका पीडितसहितका समूहहरूले राहत, पुनर्स्थापना र अन्य माग पूरा गर्न सरकारसमक्ष दबाब दिँदै आएका थिए।
वर्षा सुरु भएपछि असारमा रोकिएको मेलम्चीको पानी आपूर्ति गत असोज २६ गतेदेखि पुनः सुरु गरिएको थियो। तर, स्थानीयको आन्दोलनका कारण फेरि आपूर्ति बन्द हुन पुगेको हो।
दासका अनुसार, आन्दोलनरत पक्षसँग वार्ता गरेर समस्या समाधान गरी चाँडै पानी आपूर्ति पुनः सुरु गर्ने पहल भइरहेको छ। यसअघि सिन्धुपाल्चोक र काभ्रेका चार वटा सरोकार समितिले एक हप्ता अघि काठमाडौंको पानीपोखरीस्थित मेलम्ची खानेपानी कार्यालयमा तालाबन्दीसमेत गरेका थिए।