काठमाडौं विमानस्थलको धावनमार्गमा समस्या, उडान–अवतरण अवरुद्ध
२२ कात्तिक, काठमाडौं ।
काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (TIA) को धावनमार्गको लाइट प्रणालीमा प्राविधिक समस्या आएपछि आज दिउँसोदेखि उडान तथा अवतरण प्रभावित भएको छ।
विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाका अनुसार धावनमार्गमा रहेको लाइटमा समस्या देखिएपछि तत्काल प्राविधिक टोली फिल्डमा खटिएको छ। “आंशिक समस्या समाधान भएको छ, तर पूर्ण रूपमा उडान सञ्चालन हुन केही समय लाग्नेछ,” उनले भने।
समस्या उत्पन्न भएपछि विभिन्न विमानहरूलाई वैकल्पिक विमानस्थलतर्फ मोडिएको छ। कोरियन एयरको जहाज दिल्ली डाइभर्ट गरिएको छ भने स्पाइसजेटले आजको काठमाडौं उडान रद्द गरेको छ।
त्यस्तै, जनकपुरबाट आएको बुद्ध एयरको जहाज उतै फर्काइएको छ भने सुर्खेतबाट आएको अर्को बुद्ध एयरको जहाज पोखरा डाइभर्ट गरिएको छ। अन्य जहाजहरू आकाशमै होल्डमा राखिएका छन्।
विमानस्थलका प्राविधिकहरूले लाइट प्रणाली मर्मतका लागि काम गरिरहेको र समस्या पूर्णरूपमा समाधान भएपछि मात्र नियमित उडान सञ्चालन हुने जनाइएको छ।