दिल्ली कार विस्फोटमा जम्मु–कश्मीर डाक्टरको संलग्नता खुल्यो
नयाँ दिल्ली । दिल्लीको लाल किल्ला नजिक सोमबार साँझ भएको कार विस्फोटको अनुसन्धानले यसको सम्बन्ध जम्मु-कस्मिरका एक डाक्टरसँग जोडिएको देखाएको छ। घटनामा मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ भने २१ जना घाइते भएका छन्। प्रहरीले कारको मालिक पत्ता लगाउन थालेपछि अनुसन्धानको मुख्य दिशा खुलेको छ। प्रारम्भिक जानकारी अनुसार कार सलमान नामक व्यक्तिको नाममा दर्ता थियो, जसले कार देवेन्द्रलाई बेचेको बताए। देवेन्द्रले त्यसपछि तारिक नामक व्यक्तिलाई कार हस्तान्तरण गरेको बताए। खोजी क्रममा कार अन्ततः उमरको साथमा फेला परेको थियो। अनुसन्धान अधिकारीका अनुसार, उमर विस्फोटको समयमा कार चलाउँदै थिए र सम्भवतः उनको मृत्यु भइसकेको छ। उनी आफ्ना डाक्टर साथीहरू मुजम्मिल शकिल र आदिल अहमदसँग मिलेर विस्फोटको योजना बनाउँदै आएको पाइएको छ।
डा. आदिल अहमद राथर हिरासतमा परेपछि, शकिललाई अक्टोबर ३० मा जम्मु-कस्मिर प्रहरीले पक्राउ गरेको थियो। सोधपुछका क्रममा उनीहरूले प्रहरी टोलीलाई आफ्ना लुकेका स्थानसम्म पुर्याए, जहाँ करिब २,९०० किलोग्राम अमोनियम नाइट्रेट र बम बनाउन प्रयोग हुने अन्य सामग्रीहरू बरामद गरिएको छ। अनुसन्धान अधिकारीहरूले उमरले आफ्ना साथीहरू पक्राउ परेपछि विस्फोट गराएको हुन सक्ने सम्भावना राखेका छन्। दिल्ली प्रहरीले यस घटनामा गैरकानुनी गतिविधि रोकथाम ऐन, भारतीय न्याय संहिता अन्तर्गत हत्या र हत्या प्रयास, तथा विस्फोटक पदार्थ ऐनका प्रावधानहरू अन्तर्गत एफआईआर दर्ता गरेको छ। प्रारम्भिक अनुसन्धानले विस्फोटको तीव्रता र तापक्रमबाट अमोनिया जेल वा उच्च तीव्रताको विस्फोटक पदार्थ प्रयोग भएको संकेत दिएको छ।