श्रीलंकामा बाढी–पहिरोमा ५६ मृतक, हजारौं प्रभावित
श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यस हप्ताको सबैभन्दा गम्भीर विनाश निम्त्याएको छ। कम्तीमा ५६ जनाको मृत्यु भएको छ भने २१ जना बेपत्ता छन्। विशेषगरी बदुल्ला जिल्लाको चिया बगान क्षेत्रमा पहिरोमा २१ जनाको मृत्यु भएको डिसास्टर म्यानेजमेन्ट सेन्टर (डीएमसी) ले जनाएको छ।
सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा बाढीले घरहरू बगाएको दृश्य देखिन्छ। प्रभावित परिवारका लागि अस्थायी आश्रयस्थलहरू तयार पारिएका छन्। डीएमसीका अनुसार हालसम्म १७ जिल्लामा चार हजार बढी व्यक्ति प्रभावित भएका छन्। कम्तीमा १३१ जनालाई सुरक्षित केन्द्रमा सारिएको छ, तीन घर पूर्ण रूपमा ध्वस्त भएका छन् भने ३८१ घर आंशिक क्षतिग्रस्त भएका छन्।
शुक्रबार ‘दित्वाह’ चक्रवात पूर्वी तटतर्फ बढ्दै गर्दा सरकार र आपतकालीन टोलीले खोजी–उद्धार जारी राखेका छन्। सडक अवरुद्ध र प्रमुख मार्ग बन्द भएका कारण विश्वविद्यालयका परीक्षाहरू पनि स्थगित गरिएको छ। अधिकारीहरूले जनतालाई पहिरो र बढ्दो जलस्तरप्रति सतर्क रहन आग्रह गरेका छन्।