सिमरामा जेनजी युवालाई कुटपिट गरेको आरोपमा अरविन्द साह पक्राउ
बाराको सिमरामा जेनजी समूह र एमाले कार्यकर्ताबीच बुधबार भएको झडपपछि उत्पन्न तनाव बिहीबार पनि जारी रह्यो। जेनजी युवाहरूको किटानी जाहेरीपछि प्रहरीले अरविन्द साहसहित दुई वडाध्यक्षलाई पक्राउ गरेको छ। जेनजी समूहले कुटपिट गर्नेहरू पक्राउ नभएसम्म वार्ता नहुने अडान लिएपछि बिहीबार बोलाइएको वार्ता हुन सकेन।
प्रदर्शनका कारण सिमरा बजार तनावग्रस्त रह्यो र वीरगन्ज–पथलैया सडक आवागमन अवरुद्ध भयो। प्रदर्शनकारी र प्रहरीबीचको झडपमा ६ प्रहरी र ४ जेनजी कार्यकर्ता घाइते भए। स्थिति नियन्त्रणका लागि प्रहरीले हवाई फायर र अश्रुग्यास प्रयोग गर्यो र साँझ ८ बजेसम्म कर्फ्यू लाग्यो।
यसबीच खेलकुद तथा युवामन्त्री बब्लु गुप्ता र जेनजी प्रतिनिधिहरू छलफलका लागि सिमरा पुगेका छन्। साँझतिर प्रदर्शन स्थगित भएपछि यातायात चल्न थालेको छ।