बिहार चुनाव २०२५ : एनडीए १९१ सिटमा अगाडि, तेजस्वी र तेजप्रताप दुवै पछि
काठमाडौँ । बिहार विधानसभा चुनाव २०२५ को मतगणनामा प्रारम्भिक रुझानले नेशनल डेमोक्रेटिक एलायन्स (एनडीए) लाई स्पष्ट बहुमततर्फ उन्मुख देखाएको छ। शुक्रबार बिहान सुरु भएको मतगणनाको करिब तीन घण्टा बित्दा एनडीए २४३ मध्ये १९१ सिटमा अगाडि रहेको छ भने महागठबन्धन ४८ सिटमा सीमित देखिएको छ। बहुमतका लागि आवश्यक १२२ सिट सहजै पार गर्दै एनडीए सरकार गठनका लागि मजबुत स्थितिमा पुगेको छ।
यसबीच, महागठबन्धनका मुख्यमन्त्री उम्मेदवार तथा आरजेडी नेता तेजस्वी यादव आफ्नो परम्परागत क्षेत्र राघोपुरमा पछि परेका छन्। प्रारम्भिक अग्रता गुमाउँदै उनले भाजपा उम्मेदवार सतीश कुमारभन्दा १२०० भन्दा बढी मतले पछाडिन पुगेका छन्। तेजस्वी यसअघि दुई पटक यही क्षेत्रबाट विजयी भएका थिए।
आरजेडी छोडेर नयाँ पार्टी गठन गरेका तेजप्रताप यादव पनि महुआ क्षेत्रमा चौथो स्थानमा छन्। सो क्षेत्रमा एलजेपी (राम विलास) का उम्मेदवार संजय कुमार सिंहले साढे तीन हजारभन्दा बढी मतको अग्रता लिएका छन्।
बिहारका २४३ सिटका लागि दुई चरणमा मतदान सम्पन्न भएको थियो। ६७.१३ प्रतिशत मत खसेको यो निर्वाचन १९५१ पछि भएको सबैभन्दा बढी मतदानका रूपमा दर्ज भएको छ।