मुस्ताङ–डोल्पा सडक १० दिनदेखि अवरुद्ध, मालसामान ढुवानी प्रभावित
मुस्ताङ, २१ कात्तिक – भारी हिमपातका कारण मुस्ताङ–डोल्पा सडक विगत १० दिनदेखि अवरुद्ध भएको छ। जोमसोमदेखि छुकसम्वसम्म सडक अवरुद्ध भएका कारण मालवाहक सवारीसाधन र यात्रुहरू चल्न सकेका छैनन्।
सडक डिभिजन कार्यालय मुस्ताङले उपल्लो डोल्पामा मालसामान ढुवानी र स्थानीय आवागमनका लागि सडक विस्तार गरेका थिए। तर, समुद्री सतहबाट चार हजार मिटर उचाइमा पर्ने सडक भारी हिमपातका कारण बन्द भएको वडाध्यक्ष सुरेन्द्र गुरुङले जानकारी दिए।
यसैगरी, सीमावर्ती साङ्ता गाउँमा एक सातादेखि विद्युत्, इन्टरनेट र मोबाइल सेवाहरू पनि प्रभावित छन्। गाउँका १३ घरधुरीलाई सोलार मार्फत विद्युतीकरण गरिएको थियो। यहाँको स्थानीय कृषि र पशुपालन व्यवसाय प्रभावित बनेको छ।