उत्तर कोरियाको सर्वोच्च जनसभाका पूर्वअध्यक्ष किम योङ नामको निधन
सुप्रिम पिपुल्स असेम्बली (सर्वोच्च जनसभा) का स्थायी समितिका पूर्वअध्यक्ष किम योङ नामको निधन भएको छ। ९७ वर्षको उमेरमा क्यान्सर रोगका कारण उनको निधन भएको उत्तर कोरियाली केन्द्रीय समाचार संस्था केसीएनए वाचले जनाएको छ।
केसीएनएको अनुसार, नेता नामको जन्म विदेशी साम्राज्यवादको औपनिवेशिक कालमा भएको थियो र उनले कठिन परिस्थितिको सामना गर्दै आफ्नो युवा अवस्थामा स्वतन्त्रताको स्वागत गरेका थिए।
१७ वर्षको उमेरदेखि नेता नाम सामाजिक गतिविधि र देशको समृद्धिका लागि समर्पित थिए। ८० वर्ष लामो क्रान्तिकारी गतिविधिका क्रममा उनले पार्टी, देश र जनताको समृद्धिका लागि आफ्नो ज्ञान र उच्च दायित्वबोधसहित गणतन्त्रको गौरवशाली इतिहासलाई अगाडि बढाएका थिए।
स्थानीय समयअनुसार मंगलबार दिउँसो १ बजे कोरिया वर्कर्स पार्टीका महासचिव तथा डेमोक्रेटिक पिपुल्स रिपब्लिक अफ कोरियाका राज्य मामिलाका अध्यक्ष किम जोङले पार्थिव शरीरमा पुष्पाञ्जली अर्पण गर्दै संवेदना व्यक्त गरेका छन्।