सङ्घीय संसद् र प्रदेश सभाका पदाधिकारीहरूको संयुक्त बैठक सिंहदरबारमा सुरु
काठमाडौँ – सङ्घीय संसद्का पदाधिकारी र प्रदेश सभाका पदाधिकारीहरूको संयुक्त बैठक सिंहदरबारमा सुरु भएको छ। बैठक सङ्घीय संसद् सचिवालयअन्तर्गत राज्यव्यवस्था तथा सुशासन समितिको हलमा भइरहेको छ।
सभामुखका प्रेस विज्ञ शेखर अधिकारीका अनुसार बैठकमा सङ्घ र प्रदेशका सांसदहरूले गरिरहेका काम, समन्वय र नीति–निर्णयका विषयमा छलफल भइरहेको छ।
निकट स्रोतका अनुसार बैठकको मुख्य उद्देश्य सरकारले केही दिनअघि सङ्घीय संसद्का पदाधिकारी र प्रदेश सभाका पदाधिकारीहरूका सचिवालयसम्बन्धी सेवा–सुविधा कटौती गरेको निर्णयबारे संयुक्त रणनीति बनाउन र सरकारलाई निर्णय फिर्ता लिन दबाब दिने हो।
सरकारले हालै प्रतिनिधिसभाका उपसभामुख, राष्ट्रिय सभाका उपाध्यक्षलगायतका पदाधिकारीका सचिवालय सुविधामा कटौती गरेको थियो। उक्त निर्णयबारे असन्तुष्टि जनाउँदै संघ र प्रदेशका पदाधिकारीहरू आज छलफलमा जुटेका हुन्।