पूर्वसांसद मोहम्मद अफताब आलमको निधन
काठमाडौं, कात्तिक २२ — नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमको निधन भएको छ।
कात्तिक दोस्रो सातादेखि उपचारका लागि काठमाडौं मेडिकल कलेज (केएमसी)मा भर्ना भएका आलमको गएराति २ बजेर ५८ मिनेटमा निधन भएको अस्पताल स्रोतले पुष्टि गरेको छ। उनलाई पछिल्ला दिनमा भेन्टिलेटरमा राखी उपचार गरिँदै आएको थियो।
आलमलाई मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो। यसअघि, गत जेठमा नक्खु कारागारबाट रिहा भएलगत्तै उनलाई ब्रेन स्ट्रोक भएको थियो र त्यसबेला माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार गरिएको थियो।
रौतहट क्षेत्र नम्बर २ बाट निर्वाचित पूर्वसांसद आलम २०६४ सालको संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा भएको बम विस्फोटसम्बन्धी घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका थिए।
उक्त घटनामा घाइतेलाई इँटाभट्टामा जिउँदै जलाएको अभियोगमा जिल्ला अदालत रौतहटले उनलाई दोषी ठहर गर्दै जन्मकैदको सजायँ सुनाएको थियो।
नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले आलमको निधनप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उनको परिवारप्रति समवेदना प्रकट गरेका छन्।