हङकङमा नेपाली यात्रुलाई ट्रान्जिट भिसा अनिवार्यता हटाइयो
काठमाडौँ । हङकङ सरकारले नेपाली राहदानीबाहक यात्रुलाई हङकङ ट्रान्जिट हुँदै नेपालबाट अन्य मुलुक जाने तथा फर्कने क्रममा आवश्यक पर्ने ट्रान्जिट भिसा अनिवार्य गर्ने नियम हटाएको छ। यो नयाँ प्रावधान १५ नोभेम्बरदेखि लागू हुनेछ, हङकङस्थित नेपाली महावाणिज्य दूतावासले जानकारी दिएको छ।
सन् २००५ देखि लागू भएको नियम अनुसार हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमार्फत यात्रा गर्ने नेपाली नागरिकले ट्रान्जिट भिसा लिनु पर्ने बाध्यता थियो। तर निरन्तर कूटनीतिक पहल र अनुरोका कारण हङकङ सरकारले यो नियम फुकुवा गरेको दूतावासले जनाएको छ।
यो निर्णयसँगै हङकङ विमानस्थल हुँदै यात्रा गर्ने नेपाली नागरिकको यात्रा सहज हुने अपेक्षा गरिएको छ। साथै, हङकङ सरकारले यो कदम चाल्दा **नेपाल र हङकङबीचको द्विपक्षीय सम्बन्ध अझ मजबुत हुने** विश्वास व्यक्त गरिएको छ।