कर्णाली प्रदेश अस्पताल स्तरोन्नति प्रतिवेदन कार्यान्वयनमा अलपत्र
काठमाडौँ — कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलद्वारा गठित उच्चस्तरीय अध्ययन टोलीले तयार पारेको प्रदेश अस्पताल स्तरोन्नति सम्बन्धी प्रतिवेदन अहिलेसम्म कार्यान्वयनमा आएको छैन।
डा. भगवान कोइरालाको नेतृत्वमा तयार गरिएको प्रतिवेदनमा अस्पताललाई “पूर्ण–स्वायत्त स्वास्थ्य विज्ञान प्रतिष्ठान” का रूपमा विकास गर्ने पाँचवटा सम्भावित मार्गचित्र प्रस्तुत गरिएको थियो। तर, प्रतिष्ठान स्थापना गर्न कानुनी मस्यौदा, आर्थिक व्ययभार र विभागीय संरचनाबारे निर्णय नहुँदा प्रक्रिया रोकिएको छ।
प्रदेश अस्पतालका निर्देशक डा. गणेश थापाका अनुसार प्रतिष्ठानले कर्णालीमा दक्ष स्वास्थ्य जनशक्ति उत्पादन गरी प्रदेशभित्र गुणस्तरीय सेवा सुनिश्चित गर्ने उद्देश्य राखेको छ। तर, हालको गतिहीनताका कारण प्रतिवेदन कार्यान्वयनमा आउन सकेको छैन।