रामकुमारी झांक्री र किसान श्रेष्ठको ओलीसँग भेट, ‘घर फर्कने अभियान’ घोषणा
काठमाडौं, २० कात्तिक – नेकपा (एकीकृत समाजवादी) छाडेका नेताहरू रामकुमारी झांक्री, किसान श्रेष्ठलगायतका नेताहरूले बिहीबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्।
एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतका अनुसार उनीहरूले आज अध्यक्ष ओलीसँग भेट गरेका हुन्। सो क्रममा यही कात्तिक २४ गते दिउँसो १ बजे राष्ट्रिय सभा गृहमा ‘घर फर्कने अभियान’ कार्यक्रम आयोजना गर्ने निर्णय गरिएको छ।
नेता किसान श्रेष्ठले आफूहरू निशर्त एमालेमा फर्किन तयार रहेको यसअघि नै बताएका थिए।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले माओवादी केन्द्रलगायतका दलसँग एकता प्रक्रिया अघि बढाइरहेका बेला झांक्री र श्रेष्ठसहितका नेताहरू भने त्यसमा सहभागी नभई एमालेमा फर्कने तयारीमा देखिएका छन्।