कतार एयरवेजले क्याथे प्यासिफिकको सबै सेयर बिक्री गर्ने निर्णय
काठमाडौँ, २० कात्तिक – कतार एयरवेजले हङकङस्थित क्याथे प्यासिफिक एयरवेजमा रहेको आफ्ना सबै सेयर बिक्री गरेर बाहिरिने निर्णय गरेको छ। कतार एयरवेजले आठ वर्षअघि खरिद गरेको ९.७ प्रतिशत सेयर बिक्री गर्न लागेको हो, जसको मूल्य ६ अर्ब ९७ करोड हङकङ डलर (८९.७ मिलियन अमेरिकी डलर) रहेको छ।
सेयर क्याथे आफैंले खरिद गर्नेछ र प्रतिसेयर १०.८३ हङकङ डलरका दरले खरिद गर्न लागेको छ, जुन पछिल्लो बजार मूल्यभन्दा करिब ४ प्रतिशत छुट हो। क्याथेले सेयर फिर्ता ल्याउँदा ३५ प्रतिशत प्रिमियम पनि दिने जनाएको छ।
कतार एयरवेज र क्याथे प्यासिफिकबीचको साझेदारीले दुई कम्पनीको हबमार्फत विश्वव्यापी यात्रु चाप बढाउने उद्देश्य राखेको थियो। हाल क्याथे प्यासिफिकसँग १८० जहाज छन् भने कतार एयरवेजसँग २३० जहाज सञ्चालनमा छन्।