विज्ञापन बोर्डको आदेश विपरीत एनपीएलमा ‘डाफा न्यूज’को विज्ञापन
१ मंसिर, काठमाडौं। विज्ञापन बोर्डको स्पष्ट निर्देश विपरीत नेपाल प्रिमियर लिग (एनपीएल)मा ‘डाफा न्यूज’को विज्ञापन देखिएको छ। त्रिविस्थित क्रिकेट रंगशलामा ठूलो बोर्डमा डाफा न्यूजको विज्ञापन राखिएको छ।
विज्ञापन बोर्डले गत १ भदौमा नेपाल क्रिकेट संघ (क्यान)लाई अनलाइन जुवा साइटको विज्ञापन नगर्न निर्देशन दिएको थियो। यद्यपि, एनपीएलको पहिलो संस्करणदेखि नै वानएक्सबेट, वुल्फ ७७७, डाफा न्यूजलगायत बेटिङ साइटका विज्ञापन मैदान, जर्सी तथा बोर्डमा देखिँदै आएका छन्।
बोर्डले विज्ञापन गर्ने कम्पनीलाई १० हजार रुपैयाँ जरिवाना र तीन महिनाका लागि विज्ञापन रोक लगाएको थियो। अहिले फेरि डाफा न्यूजको विज्ञापन देखिनुमा बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले कारबाही प्रक्रिया अघि बढाउने बताए।
“बेटिङ साइटको विज्ञापन भेटिए कारबाही प्रक्रिया तुरुन्त अघि बढाउँछौं,” अध्यक्ष हुमागाईंले भने।