कपिलवस्तुका विद्यालय प्रमुख र व्यवस्थापन अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको एक सामुदायिक विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
उनीहरूमाथि विद्यार्थीको छात्रवृत्ति, दिवा खाजा र पाठ्यपुस्तकका लागि आएको ४ लाख ४३ हजार रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोप छ। अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार, आरोपपत्र काठमाडौँस्थित विशेष अदालतमा दायर गरिएको हो।
आयोगको अनुसन्धानअनुसार, आर्थिक वर्ष २०७८/७९ मा नगरपालिकाबाट विद्यालयलाई प्राप्त विभिन्न रकममा उनीहरूले अनियमितता गरेको पाइयो। अख्तियारले प्रतिवादीहरूले चार लाख ४३ हजार ४३० रुपैयाँ हानी पुर्याएको दाबी गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कसुर गरेको जनाएको छ।
अख्तियारका अनुसार, प्रतिवादीहरूले सार्वजनिक सम्पत्तिमा हानिनोक्सानी पुर्याई गैरकानूनी फाइदा लिएका छन्।