चितवनमा प्रसूति पीडित महिलाको मृत्यु, परिवारले अस्पतालमा नारावाजी
चितवन, कात्तिक २४ – चितवनको भरतपुर अस्पतालमा उपचारको क्रममा ३० वर्षीया संगीता विकको मृत्यु भएपछि उनका परिवार र आफन्तले नारावाजी गरेका छन्। मृतकका आफन्तले चिकित्सकको लापरबाहीको आरोप लगाउँदै छानबिन र दोषीको कारबाहीको माग गरेका छन्।
पर्सा स्थायी घर भएकी संगीता विक चितवनको कालिका नगरपालिका–२ बस्दै आएकी थिइन्। उनका अनुसार उनी कात्तिक २० गते अस्पतालमा भर्ना भएकी थिइन्। भिडियो एक्सरेमा बच्चाको धड्कन नभएको देखिएपछि चिकित्सकले नर्मल डेलिभरी प्रयास गर्ने सल्लाह दिएका थिए।
तर, २२ कात्तिकमा उनको अवस्था झन् बिग्रँदै गएको र रातको करिब ९ बजे आईसीयूमा सारिएको थियो। त्यही राति ११:४० बजे उनको मृत्यु भएको थियो।
अस्पतालका प्रवक्ता तथा स्त्रीरोग विशेषज्ञ डा. रामप्रसाद सापकोटाले भने, “उपचारमा कुनै लापरबाही भएन। मृत्यु पल्मोनरी एम्बोलिजमका कारण भएको हो।” उनका अनुसार, पेटभित्र शिशुको मृत्यु भइसकेको अवस्था भएकाले आमालाई शल्यक्रियाबाट अनावश्यक जोखिमबाट जोगाउन नर्मल डेलिभरीको प्रयास गरिएको थियो।
तर मृतकका आफन्तले भने, बच्चाको धड्कन नदेखिएपछि तुरुन्त शल्यक्रिया गरिनु पर्ने भए पनि गरिएको थिएन, जसले संगीताको ज्यान गएको दाबी गरेका छन्। डा. सापकोटाले भने, “सुत्केरी हुन व्यथा लाग्ने औषधि लगाउँदा संगीतालाई कार्डियाक अरेस्ट भयो र सीपीआरको प्रयास गर्दा पनि ज्यान बचाउन सकेनौं।”
अहिले घटनाको बारेमा परिवारले कानुनी पहल गर्ने तयारी गरिरहेका छन्।