अन्तर्राष्ट्रिय पर्वतीय पर्यटन महासंघ र एभरेस्ट एलायन्स नेपालबीच ऐतिहासिक सम्झौता
अन्तर्राष्ट्रिय पर्वतीय पर्यटन महासंघ (आईएमटीए) र एभरेस्ट एलायन्स नेपाल (इएएन) बीच दिगो पर्वतीय पर्यटन प्रवर्द्धन, वातावरण संरक्षण र सांस्कृतिक आदान–प्रदान सुदृढ गर्ने उद्देश्यले चीनको गुइझोउ प्रान्तमा तीन वर्षका लागि समझदारी पत्र हस्ताक्षर गरिएको छ।
सम्झौताअनुसार दुवै संस्थाले पर्वतारोहण, साहसिक खेलकुद, उद्धार तालिम, वातावरण संरक्षण र सांस्कृतिक आदान–प्रदानका क्षेत्रमा संयुक्त रूपमा कार्यक्रम सञ्चालन गर्नेछन्। यस सहकार्यले पर्वतीय समुदायको सशक्तीकरण, सीप विकास, र वातावरणमैत्री पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउनेछ।
यो समझदारी पत्र अन्तर्राष्ट्रिय र स्थानीय सहकार्यबीचको पुलको रूपमा दिगो पर्वतीय पर्यटन विकासतर्फको महत्वपूर्ण कदम मानिएको छ।
उक्त सम्झौता नोभेम्बर ११ मा चीनको गुइयाङ सहरमा सम्पन्न ‘इन्टरनेशनल कन्फरेन्स अफ माउन्टेन टुरिज्म एण्ड आउटडोर स्पोर्ट्स’ का अवसरमा हस्ताक्षर भएको हो, जहाँ ३० देशका ३५० भन्दा बढी सहभागी थिए। सम्मेलनमा नेपालका पर्यटन प्रतिनिधिहरूको पनि सहभागिता रहेको थियो।
त्यसै कार्यक्रममा **नेपालको मुन्धुम ट्रेललाई “बेस्ट हाइकिङ ट्रेल” पुरस्कार** प्रदान गरिएको थियो।