सरकारले फिर्ता बोलाएका ११ राजदूत परराष्ट्र मन्त्रालयमा नियुक्त
काठमाडौँ — सरकारले विभिन्न ११ मुलुकमा कार्यरत राजदूतलाई फिर्ता बोलाएर परराष्ट्र मन्त्रालयमा कामकाजको व्यवस्था गरेको छ। अधिकांश राजदूत नेपाल फर्किसकेका छन् र बाँकी आजभोलि आइपुग्ने अनुमान छ।
सर्वोच्च अदालतले फिर्ता बोलाउने आदेश कार्यान्वयन नगर्न आदेश दिएको भए पनि परराष्ट्र मन्त्रालयले राजदूतलाई कामका लागि फर्काउने पत्र पठाएको थियो। नेपाल फर्केका राजदूतमध्ये बेलायतका चन्द्रकुमार घिमिरेले राजीनामा दिइसकेका छन् भने अन्यले पनि राजीनामा दिने तयारी गरिरहेका छन्।
उनीहरूका लागि मन्त्रालयमा बस्ने र कामकाजको व्यवस्था मिलाइएको छ। राजदूत फिर्तासँगै सम्बन्धित मुलुकमा कार्यवाहक राजदूत पनि तोकिएका छन्। अमेरिकाका लागि शरदराज आरण, चीनका लागि रोशन खनाल, जर्मनीका लागि सागर फुयाल, जापानका लागि हरिहरकान्त पौडेल लगायतको जिम्मेवारी कार्यवाहकहरूले सम्हाल्नेछन्।