नवलपुरमा मतदानस्थल थप गर्न सिफारिस
बर्दघाट–सुस्तापूर्वमा मतदानस्थल थप गर्न निर्वाचन आयोगसमक्ष सिफारिस गरिएको छ । जिल्लाको पहाडी भू–भाग बुलिङटार गाउँपालिका– ४ स्थित जनप्रिय आधारभूत विद्यालय टाँडीस्वारा मतदानस्थल थप गर्न सिफारिस गरिएको हो ।
जिल्ला मतदानस्थल निर्धारण समितिको सिफारिसमा एउटा मतदानस्थल थप गर्न निर्वाचन आयोगसमक्ष सिफारिस गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । नवलपुरका जिल्ला निर्वाचन अधिकारी लालप्रसाद शर्माका अनुसार खोलाले गाउँलाई बीचबाट काटेपछि साविकको मतदानस्थलमा जान करिब ६ किलोमिटर टाढा पर्ने भएकाले मतदानस्थल थप गर्न सिफारिस गरिएको हो । ‘गएको बर्खामा खोलामा आएको बाढीले गाउँलाई बीचबाट काट्यो, जसले गर्दा पुरानो मतदानस्थल जान छ किलोमिटर टाढा पर्ने भयो । ज्येष्ठ नागरिक तथा अशक्त नागरिकलाई मतदानस्थलसम्म पुग्न समस्या हुने भएपछि मतदानस्थल थप गर्न सिफरिस गरिएको हो’, शर्माले भने ।
प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ मा जिल्लामा ११३ मतदानस्थलमा ३०२ मतदान केन्द्र रहेको भन्दै शर्माले सिफारिस गरिएको मतदानस्थल स्वीकृत भएमा आगामी निर्वाचनमा ११४ मतदानस्थलमा ३०३ मतदान केन्द्र हुने जानकारी दिए । सरकारले २१ फागुनका लागि प्रतिनिधिसभा सदस्य निर्वाचन तोकेपछि जिल्लामा मतदाता नामावलीमा नाम दर्ता गराउन आउने नागरिकको संख्या उल्लेख्य रहेको शर्माले बताए ।
‘सरकारले निर्वाचनको मिति घोषणा गरेपछि ३ हजार ७९ जनाले फोटोसहितको नामावलीमा नाम दर्ता गराउनुभएको छ’, उनले भने, ‘यसपटक नाम दर्ता गराउनेमा अधिकांश जेन–जी उमेर समूहका युवा रहनुभएको छ ।’ उनका अनुसार सरकारले निर्वाचन मिति घोषणा गर्नुअघि जिल्लामा २ लाख ६७ हजार मतदाता रहेका थिए । अहिले फोटो खिचाएका कति जनाको मतदाता परिचयपत्र आउने भन्ने कुरा केही दिनमा निर्धारण भएर आउने शर्माले बताए ।
प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ मा जिल्लामा दुई लाख ६० हजार ४६१ जना मतदाता रहेका थिए ।