उदयपुरमा विङ्गर दुर्घटना, चालकसहित १२ जना घाइते
उदयपुर, त्रियुगा नगरपालिका-४, शान्तिचोकमा आज बिहान विङ्गर दुर्घटना हुँदा चालकसहित १२ जना घाइते भएका छन्। गाईघाटबाट लहानतर्फ जाँदै गरेको ना १ ज ८३९१ नम्बरको विङ्गर अनियन्त्रित भई सडक छेउको सिमेन्ट पर्खालमा ठोक्किएको हो।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार, बिहान करिब ७:४५ बजे भएको दुर्घटनामा घाइतेहरूलाई तुरुन्त उद्धार गरी जिल्ला अस्पताल उदयपुर लगिएको थियो। घाइतेमध्ये ६ जनालाई सामान्य उपचारपछि डिस्चार्ज गरिएको छ भने बाँकी ६ जनाको उपचार जारी छ।
डिस्चार्ज हुनेमध्ये त्रियुगा-११ का ७४ वर्षीय पूर्णबहादुर राई, त्रियुगा-१२ की १७ वर्षीया प्रजिता विश्वकर्मा, ओखलढुंगाका ४५ वर्षीय तिर्थ घिमिरे, सप्तरी सुरुङ्गा-१ की २७ वर्षीया चन्द्रमाया चौधरी र उनकी ४ वर्षीया छोरी एरिना चौधरी, तथा काठमाडौंका ४४ वर्षीय शम्भुराज पोखरेल रहेका छन्।
उपचाररत अन्य घाइतेहरूमा त्रियुगा-११ की ६० वर्षीय रामकुमारी राई, त्रियुगा-१२ का ४४ वर्षीय ज्ञानेन्द्र विश्वकर्मा, त्रियुगा-७ का २२ वर्षीय केवल ठकुरी, त्रियुगा-२ का ७७ वर्षीय कमल बहादुर खड्का र ५७ वर्षीय नर बहादुर खत्री रहेका छन्।
दुर्घटनाको कारण अहिलेसम्म स्पष्ट नभएको प्रहरीले जनाएको छ र थप अनुसन्धान भइरहेको छ।