भारतको लाल किल्ला विस्फोट प्रकरणमा थप चार अभियुक्त पक्राउ
भारतको राष्ट्रिय अनुसन्धान एजेन्सी ९एनआईए०ले नोभेम्बर १० मा दिल्लीको लाल किल्ला बाहिर भएको विस्फोटमा संलग्न थप चार जना प्रमुख अभियुक्तलाई पक्राउ गरेको छ ।
यससँगै यस प्रकरणमा पक्राउ पर्नेको कुल सङ्ख्या ६ पुगेको छ । एनआईएले पटियाला हाउस अदालतका जिल्ला सत्र न्यायाधीशको पेशीको आदेशमा जम्मू कश्मीरबाट चार जना अभियुक्तलाई हिरासतमा लिएको हो ।
एनआईएले अभियुक्तलाई पुलवामा (जम्मू कश्मीर) निवासी डा. मुजम्मिल शकील गनई, अनन्तनाग (जम्मू कश्मीर) निवासी डा. आदिल अहमद राथेर, लखनऊ (उत्तर प्रदेश) निवासी डा. शाहीन सईद र शोपियान (जम्मू कश्मीर) निवासी मुफ्ती इरफान अहमद वागेको रुपमा भनेर पहिचान गरेको छ ।
एनआईए अनुसन्धानका अनुसार, तिनीहरू सबैले आतङ्कवादी हमलामा प्रमुख भूमिका खेलेका थिए । लाल किल्लामा भएको विस्फोटमा परेर १५ जनाको मृत्यु भएको थियो भने धेरै घाइते भएका थिए ।
अनुसन्धानलाई तीव्र पार्दै, एनएनआईले यस अघि नै अन्य दुई जना अभियुक्तलाई पक्राउ गरिसकेको छ । पक्राउ पर्नेमा आमिर रशिद अली र जसिर बिलाल वानी उर्फ दानिश छन् ।
अलिको नाममा विस्फोटमा प्रयोग गरिएको कार दर्ता गरिएको छ भने दानिशले घातक आक्रमणमा संलग्न आतङ्ककारीलाई प्राविधिक सहयोग गरेका थिए । एनआईएले संदिग्धहरूसँग सोधपुछ गरिरहेको छ ।