जेलेन्स्कीले अमेरिकाको शान्ति प्रस्तावमा छलफल गर्न तयार
काठमाडौं, ५ मंसिर – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकाले अघि सारेको शान्ति प्रस्तावमा छलफल गर्न तयार रहेको बताएका छन्। तर प्रारम्भिक योजनाका केही प्रावधानहरू युक्रेनले अघि नै अस्वीकार गरिसकेको विषय फेरि समावेश भएको देखिएको छ।
अमेरिकाबाट चुहिएको प्रारम्भिक शान्ति खाकामा युक्रेनले पूर्वी युक्रेनको डोनेस्क क्षेत्रका केही भू–भाग छोड्ने, आफ्नो सेनाको संख्या घटाउने र नाटोमा सामेल नहुने प्रतिबद्धता जनाउने प्रस्ताव समावेश थियो। यद्यपि डोनेस्कका केही क्षेत्र हालै मात्र रूसी सेनाको नियन्त्रणमा आएका छन्। राष्ट्रपति जेलेन्स्कीले भने, “रूसले मच्याएको नरसंहारको बदलामा आफ्नो भू–भाग लिएर पुरस्कृत गर्न सकिँदैन।”
शान्ति वार्ता अमेरिकी विशेष दूत स्टिभ विट्कोफ र रुसी समकक्षी किरील दिमित्रिएभबीचको छलफलपछि बाहिर आएको हो। बीबीसीका अनुसार, प्रारम्भिक खाका रूसी पक्षतिर झुकेको देखिए पनि किभले कूटनीतिक रूपमा सचेत प्रतिक्रिया दिएको छ।
अमेरिकी शान्ति योजनामा युक्रेनको सेनाको संख्या ६ लाखमा सीमित गर्ने, युरोपेली फाइटर–जेटहरू पोल्यान्डमा तैनाथ गर्ने, र रूसले नाटो विस्तार नगर्ने तथा छिमेकी मुलुकमा आक्रमण नगर्ने शर्त समावेश छ। साथै, रूसी अर्थतन्त्रलाई पुन: वैश्विक प्रणालीमा फर्काउने, प्रतिबन्ध हटाउने र जी७ मा पुन: सामेल गराएर जी८ बनाउने प्रस्ताव पनि खाकामा उल्लेख छ।
युरोपेली देशहरूले भने अमेरिका एकल रूपमा शान्ति प्रक्रिया अघि बढाएको भन्दै असन्तुष्टि जनाएका छन्। जर्मनीका विदेश मन्त्री जोहान वेडफुलले प्रस्तावलाई दीर्घकालीन योजना नभएको र विकल्प जस्तो देखिएको टिप्पणी गरेका छन्।
जेलेन्स्कीले आगामी दिनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग विस्तृत कुराकानी गर्ने बताएका छन्। ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले युक्रेन शान्ति योजना निर्माणमा सहभागी नभएको दाबी गलत भएको बताएकी छन् र दुवै पक्षसँग परामर्श गरी योजना तयार गरिएको दाबी गरेकी छन्।
यसैबीच, अमेरिकाले शुक्रबारदेखि लागू हुने गरी रूसका दुई ठूला तेल कम्पनीमाथि नयाँ प्रतिबन्ध लगाउने निर्णय गरेको छ। युद्ध जारी रहँदा दुवै पक्षले ड्रोन र क्षेप्यास्त्र आक्रमण जारी राखेका छन्।