भारतको बिहार विधानसभा चुनावका कारण पर्सा–भारत सीमा नाकाहरू अस्थायी रूपमा बन्द
पर्सा । छिमेकी देश भारतको बिहार राज्यमा हुन लागेको विधानसभा निर्वाचनलाई मध्यनजर गर्दै पर्सा जिल्ला र भारतको पूर्वी चम्पारण जिल्लालाई जोड्ने सीमा नाकाहरूमा आवागमन अस्थायी रूपमा बन्द गरिएको छ।
जिल्ला प्रशासन कार्यालय पर्साले आज जारी गरेको सूचनाअनुसार कात्तिक २२ गतेदेखि २५ गते साँझ ६ बजेसम्म अत्यावश्यक कार्य बाहेक सबै प्रकारका आवतजावतमा रोक लगाइएको हो।
नेपाल–भारत सीमावर्ती जिल्ला समन्वय बैठकमा असोज २९ गते भएको समझदारीका आधारमा यो निर्णय गरिएको प्रशासनले जनाएको छ।
निर्वाचनको सुरक्षालाई ध्यानमा राख्दै कात्तिक २५ गते साँझ ६ बजेसम्म सीमावर्ती सबै नाकाहरूमा आवागमन पूर्ण रूपमा बन्द रहने जिल्ला सुरक्षा समितिको निर्णय रहेको सहायक प्रमुख जिल्ला अधिकारी सुमन कुमार कार्कीले जानकारी दिए।