मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्र सडक स्तरोन्नतिका लागि टेन्डर आह्वान
काठमाडौं, २६ कात्तिक । मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्र (हेडवर्क्स) पुग्ने सडक स्तरोन्नति गर्न बुधबार टेन्डर आह्वान गरिएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी आयोजनासम्बन्धी सरोकार समितिबीच मंगलबार भएको समझदारी कार्यान्वयन गर्दै सडक डिभिजन कार्यालय चरिकोटले *मेलम्ची–अम्बाथान–मेलम्चीघ्याङ* सडकखण्ड (१७ किलोमिटर) तीन प्याकेजमा विभाजन गरी टेन्डर आह्वान गरेको हो ।
गत २० कात्तिकमा सरकार र स्थानीय सरोकारवालाबीच सहमति भएपछि मेलम्ची खोलाको पानी सुरुङमार्फत काठमाडौं ल्याउने कार्य अघि बढाइएको छ । सहमति अनुसार प्रभावित क्षेत्रका मागहरू सम्बोधन गर्ने, क्षति पुगेकाहरूलाई राहत तथा क्षतिपूर्ति प्रक्रिया अघि बढाउने र तीन महिनाभित्र कार्य सम्पन्न गर्ने योजना छ ।
स्थानीय भेन्डरहरूको बक्यौता रकम १५ दिनभित्र निकासा गर्ने, सडक निर्माणका लागि विनियोजित रु २५ करोड रकम सडक विभागलाई हस्तान्तरण भइसकेको र रु एक अर्बको बहुवर्षीय ठेक्का प्रक्रिया अघि बढाउने पनि सहमतिपत्रमा उल्लेख छ ।
त्यसैगरी, मेलम्ची हेलम्बु एकीकृत विकास कोरिडोर कार्यक्रम आगामी आवका लागि अघि सार्ने र आयोजनाको दीर्घकालीन समस्या समाधानका लागि कानुनी तथा वित्तीय समन्वय गरिनेछ ।
सहमतिपत्रमा खानेपानी मन्त्रालयका सचिव प्रमिला देवी शाक्य बज्राचार्य, भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशवकुमार शर्मा, मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जगरनाथ दास, स्थानीय प्रतिनिधि तथा सरोकारवालाहरूले हस्ताक्षर गरेका छन् । सहमतिपत्रमा मन्त्री कुलमान घिसिङको उपस्थिति थियो ।