दिल्ली विस्फोटपछि काश्मीरमा जेआई–कश्मीर लक्षित व्यापक छापामारी
काठमाडौँ । भारतको राजधानी नयाँ दिल्लीमा सोमबार भएको विस्फोटमा कम्तीमा १२ जनाको मृत्यु भएपछि भारतीय सुरक्षा निकायले विवादित काश्मीरमा प्रतिबन्धित इस्लामवादी राजनीतिक पार्टी जमात–ए–इस्लामी–कश्मीर (जेआई–कश्मीर) लक्षित गर्दै व्यापक छापा मारिएको छ।
पुरानो दिल्लीको लालकिल्ला नजिक भएको विस्फोटलाई सरकारले ‘जघन्य आतङ्ककारी कृत्य’ भन्दै ‘राष्ट्रविरोधी शक्तिहरू’ जिम्मेवार रहेको बताएको छ। हालसम्म विस्फोट र काश्मीर छापामारीबीच प्रत्यक्ष सम्बन्ध पुष्टि भने भएको छैन।
अवन्तीपोर, बन्दिपोर, गान्दरबल, शोपियाँ र सोपोर जिल्लामा काश्मीर प्रहरी कार्यालयहरूले जारी गरेको विज्ञप्तिअनुसार ‘आतङ्कवादी इकोसिस्टम र त्यसलाई समर्थन गर्ने संरचना नष्ट गर्न’ व्यापक अपरेसन सञ्चालन गरिएको छ। बन्दिपोरमा आपत्तिजनक सामग्री जफत गरिएको र सोपोरमा ३० भन्दा बढी स्थानमा खोजी भएको छ।
अल–फलाह विश्वविद्यालय (फरीदाबाद) लगायत अन्य स्थानमा पनि सुरक्षा बलको छापा परेको छ। पुलवामा जिल्लामा प्रहरीले एउटा घर ध्वस्त पारेको समाचार बाहिर आएको छ।
सोमबारको विस्फोटको अनुसन्धान भारतको राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआइए) ले नेतृत्व गरिरहेको छ। प्रारम्भिक अनुसन्धान अनुसार केही पक्राउ परेका व्यक्ति पाकिस्तानस्थित अल–कायदासँग सम्बन्धित जैश–ए–मोहम्मद (जेएम) र यसको काश्मीर शाखा अन्सार गजवत–उल–हिन्दसँग सम्बन्धित रहेको प्रहरीले जनाएको छ।
सो घटनापछि भारत–पाकिस्तानबीचको तनाव उच्च रहेको छ। यसअघि अप्रिल २२ मा काश्मीरको पहलगाममा भएको आक्रमणमा २६ जना मुख्यतया हिन्दू नागरिक मारिएका थिए। सोमबारको विस्फोट त्यसयताकै सबैभन्दा घातक सुरक्षा घटना मानिएको छ।