धनुषामा महिलाको धारिलो हतियार प्रहार गरी हत्या, एकजनाको पक्राउ
२५ कात्तिक, जनकपुरधाम । धनुषामा एक ६२ वर्षीया महिलाको विभत्स हत्या भएको छ। हंसपुर नगरपालिका–७ नौवाखोरकी चन्द्रकला देवी दास सोमबार साँझ घरभन्दा करिब ५०० मिटर टाढा खेतमा अनुहार र टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा फेला परेकी थिइन्।
धनुषा प्रहरीले घटनाबारे राति ९ बजे जानकारी प्राप्त भएपछि घटनास्थलमा पुगेको थियो। घटना सम्बन्धमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। प्रहरीले बताएको छ कि मृतकले लगाएका सुनचाँदीका गरगहनासमेत लुटिएको पाइएको छ।
स्थानीय स्रोतका अनुसार मृतक महिला मिटरव्याजका पीडित थिइन् र त्यसकै कारण हत्या भएको आशंका गरिएको छ। प्रहरीले लुटिएको गहना बरामद गरेको छ, तर कसले लुटेको भन्ने विषय अझै खुल्न बाँकी छ।