त्रिवि क्रिकेट रंगशालामा फ्लडलाइट जडान अन्तिम चरणमा
काठमाडौँ, २० कात्तिक – कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा फ्लडलाइट जडानको काम अन्तिम चरणमा पुगेको छ। ६ वटा फ्लडलाइट टावरमध्ये २ टावरमा बत्ती जडान भइसकेको छ भने २ टावरमा जडानको काम भइरहेको छ र बाँकी २ टावरमा अझै जडान हुन बाँकी छ।
आयोजना प्रमुख सौरभ साहका अनुसार लाइट शनिबारसम्म पूर्णरूपमा जडान हुने अपेक्षा गरिएको छ। टेस्टिङको काम पनि चलिरहेको छ र नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करण सुरु हुन ११ दिन मात्र बाँकी रहेको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले एनपीएलका सबै खेल फ्लडलाइटमा आयोजना गर्ने योजना बनाएको छ। क्यानका प्रवक्ता छुम्बी लामाले, “निर्माण कम्पनीले तीव्र रूपमा काम गरिरहेको छ, हाम्रो चाहना एनपीएल खेल रातिमा खेलाउने नै हो” भनेका छन्।