१०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता फागुन पहिलो साता कर्णालीमा हुने
काठमाडौँ । सरकारले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी फागुन पहिलो साता आयोजना गर्ने निर्णय गरेको छ। सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले फागुन १ गतेदेखि ७ गतेसम्म कर्णाली प्रदेशमा प्रतियोगिता आयोजना गर्न स्वीकृति दिने निर्णय गरेको हो।
सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बैठकपछि जानकारी दिँदै भने, “आगामी फागुन पहिलो सातादेखि कर्णाली प्रदेशमा १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न स्वीकृति दिइएको छ।”
राष्ट्रिय खेलकुद प्रतियोगिता देशभरका खेलाडीहरू सहभागी हुने प्रमुख राष्ट्रिय खेल आयोजनाका रूपमा परिचित छ। यसअघि ९औँ राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशमा सम्पन्न भएको थियो।
सरकारको यो निर्णयसँगै अब राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले प्रतियोगिता तयारी प्रक्रिया अघि बढाउनेछ।