देशभरका २२ मालपोत र १४ नापी कार्यालयमा क्षति
२४ भदौमा प्रदर्शनका क्रममा देशभरका २२ भूमिसुधार तथा मालपोत कार्यालय र १४ वटा नापी कार्यालयमा क्षति पुगेको छ । मुलुकका १० वटा मालपोत कार्यालयमा पूर्ण रूपमा क्षति भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ । ती भूमिसुधार तथा मालपोत कार्यालयमा क्षति हुँदा जग्गाधनी दर्ता स्रेस्ता, रोक्का अभिलेख नष्ट भएको छ । क्षति भएका कार्यालयमा नष्ट भएका जग्गाधनी दर्ता स्रेस्ता, रोक्का अभिलेख तयार गर्न विभागले शुक्रबार परिपत्र गरेको छ ।
विभागले भूमिसुधार तथा मालपोत कार्यालय, धनगढी कैलाली, नेपालगन्ज बाँके, घोराही दाङ र विराटनगर मोरङ र मालपोत कार्यालय, तुलसीपुर दाङ, पोखरा कास्की, भरतपुर चितवन, खैरहनी चितवन, कलंकी काठमाडौं र बुटवल रूपन्देहीलाई परिपत्र जारी गरेको हो । यी कार्यालय पूर्ण रूपमा क्षति भएको समेत विभागले जनाएको छ । क्षतिग्रस्त सबै भूमिसुधार तथा मालपोत कार्यालयबाट काम सुरु भइसकेको विभागका प्रवक्ता खिमानन्द आचार्यले बताए ।