माओवादी केन्द्र र नेकपा समाजवादीबीच पार्टी एकीकरण अन्तिम चरणमा, विप्लव समेट्ने तयारी
काठमाडौं — कम्युनिस्ट घटकबीच एकताको प्रयास तीव्र भइरहेका बेला नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) बीच पार्टी एकीकरण लगभग टुंगोमा पुगेको छ। यस एकतामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई पनि समेट्ने प्रयास भइरहेको छ।
एकता वार्तामा सहभागी नेताहरूका अनुसार अब दुई दलबीच नीति, सिद्धान्त र कार्यक्रममा कुनै मतभेद बाँकी छैन। पार्टी नेतृत्वको विषयमा अन्तिम निर्णयका लागि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र समाजवादी अध्यक्ष माधवकुमार नेपाल लाई जिम्मेवारी दिइएको छ।
स्रोतका अनुसार, एकीकरणपछि बन्ने पार्टीको मार्गदर्शक सिद्धान्त मार्क्सवाद–लेनिनवाद रहनेछ भने कार्यनीति नेपाली विशेषतासहितको समाजवादमा आधारित हुनेछ। माओवादीले माओवाद परित्याग गर्ने र समाजवादीले जनताको बहुदलीय जनवाद (जबज)का आधारभूत मान्यताहरूलाई आंशिक रूपमा मात्र अंगीकार गर्ने सहमति भएको छ।
पार्टीको नाम र चुनाव चिन्हबारे भने अन्तिम टुंगो बाँकी छ। ‘नेपाल कम्युनिस्ट पार्टी समाजवादी’ वा ‘नेकपा समाजवादी’ नाम रहने प्रस्तावमा छलफल जारी छ। चिन्हका विषयमा माओवादी पक्षले नयाँ खोज्ने भने समाजवादीले पुरानै ‘कलम’ राख्ने अडान लिएको छ।
एकीकरण प्रक्रियामा रहेका नेताहरूका अनुसार, निर्वाचन आयोगमा दल दर्ताको समयअघि नै एकता घोषणा हुने सम्भावना छ। नेतृत्व संरचनाबारे प्रचण्डलाई संयोजक र माधव नेपाललाई सहसंयोजक बनाउने प्रस्ताव अघि सारिएको छ।
विप्लव समूह समेटिएमा अध्यक्ष मण्डल प्रणालीको विकल्प पनि विचाराधीन छ। वार्तामा सहभागी एक नेताका अनुसार, “अब एकतामा ठूला अवरोध छैन, झलनाथ खनाल र घनश्याम भुसालको व्यवस्थापन भएपछि औपचारिक घोषणा मात्र बाँकी छ।”
एकीकरणपछि दुवै दलका पदाधिकारी मिलाएर संयुक्त सचिवालय र अन्य कमिटीहरू पुनर्गठन गर्ने तयारी गरिएको छ। नेताहरूको भनाइअनुसार, यो एकता कम्युनिस्ट एकताको आधार र आगामी राजनीतिक समीकरणको केन्द्रबिन्दु बन्ने अपेक्षा गरिएको छ।