झापामा आएको बाढीका कारण चार करोड बराबरको क्षति
अविरल वर्षापछि आएको बाढीका कारण झापामा करिब दुई हजार ५०० बालबालिका प्रभावित भएका छन् । बाढीले जिल्लाका विभिन्न स्थानका दुई हजार पाँच सय बालबालिका प्रभावित भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईँले जानकारी दिए । “प्रभावित बालबालिकालाई शैक्षिक सामग्रीको व्यवस्थापन गर्ने काम भइरहेको छ”, उनले भने, “सम्बन्धित पालिकालाई पुस्तकको व्यवस्थापन गर्न भनिसकिएको छ ।”
अविरल वर्षापछिको बाढीले जिल्लामा करिब चार हजार ५०० घरपरिवार प्रभावित भएकामा झण्डै तीन हजार ४०० घरपरिवार झापा गाउँपालिकाका रहेको उनले बताए । गत २३ गतेयता झापा गाउँपालिका वडा नं १ र २ का करिब एक हजार ७०० बाढीपीडितलाई राहत प्याकेज वितरण गरिएको उनले बताए ।
बाढीपीडितलाई राहतसँगै कृषि, पशु, पूर्वाधारलगायत क्षेत्रमा भएको क्षतिको विवरण सङ्कलनको काम भइरहेको छ । विपद्जन्य रोगबाट बचाउन मेची प्रादेशिक अस्पताल, स्वास्थ्य कार्यालयको टोली प्रभावित क्षेत्रमा खटिएको सहायक प्रजिअ प्रसाईँले बताए ।
करिब चार हजार परिवारलाई वितरण गर्न सकिनेगरी खाद्यान्न व्यवस्थापन भइसकेको सहायक प्रजिअ प्रसाईँले बताए । उनले भने, “अहिले राहत वितरणका लागि खाद्यान्नको अभाव छैन ।”
जिल्ला विपद् व्यवस्थापन समितिले ‘एकका लागि एक अभियान’सँगको सहकार्यमा एकद्वार प्रणालीमार्फत जिल्लाका बाढीपीडितलाई राहत वितरण गरिरहेको छ । एकका लागि एक अभियानका संयोजक महेन्द्रकुमार गिरीले दुई हजार परिवारलाई राहत दिन पुग्नेगरी करिब रु ६० लाख विभिन्न दाताबाट प्राप्त भइसकेको बताए ।
बाढीपीडितलाई राहत प्याकेजअनुसार प्रतिपरिवार चामल एक बोरा, तेल एक लिटर, नुन दुई केजी, आलु पाँच केजी, दाल दुई केजी, पानी एक कार्टुन, म्याट दुई थान र कम्बल दुई थान वितरण गरिँदै आएको छ ।