प्रधानमन्त्री सुशीला कार्कीको नाममा खोलिएका २६ फेक अकाउन्टमाथि प्रहरी अनुसन्धान
काठमाडौं, १६ असोज – अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको नाममा सामाजिक सञ्जालमा खोलिएका फेक अकाउन्टहरूबारे प्रहरीले अनुसन्धान थालेको छ।
फेसबुकलगायत विभिन्न प्लेटफर्ममा खोलिएका नक्कली अकाउन्टहरूबाट भ्रामक सूचना प्रवाह भएपछि प्रधानमन्त्रीको सचिवालयले विज्ञप्ति जारी गर्दै ती सबै अकाउन्ट नक्कली भएको स्पष्ट पारेको थियो।
प्रहरीको केन्द्रीय साइबर ब्यूरोका प्रवक्ता एसपी दीपकराज अवस्थीका अनुसार, घटनाको अनुसन्धान अघि बढाइएको छ। केही व्यक्तिहरूलाई ब्यूरोमा बोलाएर सोधपुछ सुरु गरिएको भए पनि हालसम्म कोही पक्राउ परेका छैनन्।
प्रधानमन्त्री कार्कीको नाममा अहिलेसम्म २६ वटा नक्कली अकाउन्ट फेला परेको र तीमध्ये केही बन्द भइसकेका** तथा केही बन्द गर्ने प्रक्रियामा रहेको ब्यूरोले जनाएको छ।