गाजाको स्वास्थ्य क्षेत्र पुनर्निर्माणका लागि कम्तीमा सात अर्ब डलर आवश्यक : डब्ल्यूएचओ
काठमाडौं — विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले इजरायली आक्रमणपछि ध्वस्त बनेको गाजाको स्वास्थ्य प्रणाली पुनर्निर्माणका लागि कम्तीमा सात अर्ब अमेरिकी डलर आवश्यक पर्ने जनाएको छ।
डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयसस ले गाजामा भएका निरन्तर आक्रमणका क्रममा अस्पतालहरू समेत निशानामा परेका कारण अहिले पूर्ण क्षमतामा सेवा दिनसक्ने कुनै अस्पताल नभएको बताए। उनका अनुसार हाल ३६ वटा अस्पतालमध्ये केवल १४ वटाले सीमित सेवा प्रदान गरिरहेका छन्।
गेहब्रेयससले भने, “गाजामा अत्यावश्यक औषधि, उपकरण र स्वास्थ्यकर्मीको गम्भीर अभाव छ। ध्वस्त बनेको स्वास्थ्य प्रणाली पुनःस्थापना गर्न कम्तीमा सात अर्ब डलर खर्च लाग्ने अनुमान गरिएको छ।”
गाजाको स्वास्थ्य पूर्वाधार युद्धका कारण लगभग पूर्ण रूपमा नष्ट हुँदा हजारौं नागरिक बिनाऔषधोपचार पीडित बनेका छन्। डब्ल्यूएचओले अन्तर्राष्ट्रिय समुदायलाई गाजाको स्वास्थ्य पुनर्निर्माणमा सहयोग गर्न आग्रह गरेको छ।