लुफ्थान्सा उडानमा भारतीय यात्रुको काँटाचम्चा हमला, जहाज बोस्टनमा अवतरण
वाशिङटन । अमेरिकाबाट जर्मनी उडेको लुफ्थान्सा एयरलाइन्सको एक विमानमा भारतीय यात्रुले दुई बालकमाथि काँटाचम्चा प्रहार गर्ने घटना भएको छ। अमेरिकी अधिकारीहरूका अनुसार घटना गत शनिबार शिकागोबाट फ्र्यांकफर्टतर्फ गइरहेको उडान नम्बर ४३१ मा भएको हो।
२८ वर्षीय भारतीय नागरिक प्रनितकुमार उसिरीपल्लीले विमानभित्र एक नाबालक र १७ वर्षीय किशोरमाथि काँटाचम्चा प्रयोग गरी आक्रमण गरेका थिए। अमेरिकी मिडिया **हिन्दुस्तान टाइम्सका अनुसार ती युवकले सुतिरहेका बालकको बाँया काँधमा काँटाचम्चा घोपेका थिए भने, त्यसपछि नजिकै रहेका अर्का किशोरको टाउको पछाडिबाट प्रहार गरेका थिए।
आक्रमणपछि दुवै बालक घाइते भएका थिए र प्रहारको स्थानबाट रगत बगेको प्रत्यक्षदर्शीहरूले बताएका छन्। घटनापछि विमानभित्र अफरातफरी मच्चिएको थियो।
स्थितिलाई नियन्त्रणमा ल्याउने प्रयासमा लागेकी एक महिलालाई समेत प्रनितकुमारले थप्पड हानेका थिए। त्यसपछि उनले हातको औंलाबाट बन्दुकको आकृति बनाएर मुखमा हानेर आत्महत्या गर्ने अभिनय गरेका थिए।
विमानका क्रु सदस्य र सुरक्षाकर्मीहरूले उनलाई नियन्त्रणमा लिएपछि **उडानलाई बोस्टनतर्फ डाइभर्ट गरी आकस्मिक अवतरण गराइएको थियो। बोस्टनमा प्रहरीलाई जिम्मा लगाइएपछि उनलाई नियन्त्रणमा लिइएको अमेरिकी संघीय अधिकारीहरूले जनाएका छन्।
अमेरिकी संघीय अदालतमा ‘हातहतियारको रूपमा प्रयोग गर्न सकिने वस्तु प्रयोग गरी शारीरिक क्षति पुर्याउने प्रयास’ शीर्षकमा उनीविरुद्ध मुद्दा दायर गरिएको छ। प्रारम्भिक अनुसन्धानअनुसार प्रनितकुमार विद्यार्थी भिसामा अमेरिका पुगेका थिए र बाइबल अध्ययनमा स्नातकोत्तर तहमा भर्ना भएका थिए।
अदालतले दोषी ठहर गरेमा उनलाई १० वर्ष जेल सजाय र २ लाख ५० हजार अमेरिकी डलर जरिवाना तिर्नुपर्ने अमेरिकी समाचार साइट फर्स्टपोस्टले जनाएको छ।
अहिले उनी अमेरिकामा बस्न अयोग्य घोषित भएका छन् भने थप अनुसन्धान भइरहेको अधिकारीहरूले बताएका छन्।