हमासले गर्यो २० जना बन्धक रिहा, इजरायलले प्यालेस्टिनी कैदी रिहाइ गर्ने सहमति
काठमाडौं – हमासले सोमबार २० जना इजरायली बन्धकलाई रिहा गरेको छ। बीबीसीका अनुसार, हमासले रेडक्रस मार्फत् ती बन्धकहरूलाई इजरायली सेनाको जिम्मा लगाएको हो।
यी बन्धकहरूलाई हमासले सन् २०२३ को अक्टोबर ७ मा इजरायली सीमा क्षेत्रमा भएको आक्रमणका क्रममा अपहरण गरी गाजामा लगेको थियो। बन्धक रिहाइसँगै, युद्धविराम सम्झौता अनुसार इजरायलले २५० जना प्यालेस्टिनी कैदी र १७०० भन्दा बढी बन्दीहरू रिहा गर्ने सहमति जनाएको छ।
यसैबीच, हमासले अपहरण गरेको नेपाली नागरिक विपिन जोशीको रिहाइको अवस्था हालसम्म अस्पष्ट छ।
हमासले रिहा गरेका बन्धकहरूलाई रेडक्रसको सहयोगमा गाजाका विभिन्न स्थानबाट इजरायल ल्याइएको छ। इजरायली सेनाले रिहाइपछिका बन्धकहरूको तस्वीर सार्वजनिक गर्दै उनीहरू खुशीले आपसमा अंकमाल गरिरहेको देखाएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि इजरायल पुगेका छन् र उनले इजरायली संसदमा सम्बोधन गर्ने तथा बन्धकका परिवारसँग भेट गर्ने अपेक्षा गरिएको छ।
ट्रम्पको मध्यस्थतामा अमेरिकासहित इजिप्ट, कतार र टर्कीले युद्ध रोक्ने सहमति कायम गर्दै शान्ति प्रक्रियालाई अगाडि बढाउने प्रयास जारी राखेका छन्।