इजरायल–हमास सहमति : पहिलो बन्धक १५ मिनेटमै रिहा हुने, १,७१८ प्यालेस्टिनी कैदीको नाम सार्वजनिक
काठमाडौँ । इजरायल र हमासबीच भएको पछिल्लो सहमतिअनुसार गाजाबाट पहिलो बन्धकलाई १५ मिनेटभन्दा कम समयमा रिहा गरिने इजरायली सुरक्षा अधिकारीले बताएका छन्। इजरायली डिफेन्स फोर्स (IDF) ले सम्झौताको कार्यान्वयनका क्रममा बन्धकहरूलाई स्थानान्तरण र फिर्ता गर्ने तयारी गरिरहेको जनाएको छ।
उत्तरी गाजा पट्टीमा स्थानीय समयअनुसार बिहान ८ बजेबाट बन्दी रिहाइ सुरु हुने बताइएको छ। अधिकारीले "समय परिवर्तन भइरहन्छ, जानकारी उपलब्ध हुनेबित्तिकै अपडेट दिइनेछ," भनेका छन्।
इजरायली वायुसेनाले दुईवटा हेलिकप्टर बन्धकहरूलाई घर ल्याउन तयारी अवस्थामा राखेको जानकारी माइक्रोब्लगिङ साइट एक्समार्फत दिएको छ।
यसैबीच, हमासद्वारा सञ्चालित कैदी मिडिया कार्यालयले टेलिग्राममा इजरायलले रिहा गर्न लागेको १,७१८ प्यालेस्टिनी कैदी र बन्दीहरूको नामावली सार्वजनिक गरेको छ। यी कैदीहरू हमासले रिहा गर्न लागेको इजरायली बन्धकहरूको सट्टा स्वपक्षमा छुटाइने बताइएको छ।
ट्रम्पलाई इजरायलको सर्वोच्च नागरिक सम्मान
काठमाडौँ । इजरायली राष्ट्रपति आइज्याक हर्जाेगले अमेरिका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई इजरायलको सर्वोच्च नागरिक सम्मान प्रदान गर्ने निर्णय गरेका छन्।
स्थानीय सञ्चारमाध्यमहरूका अनुसार, ट्रम्पले इजरायललाई दिएको अटल समर्थनप्रति सम्मान स्वरूप उनलाई सो सम्मान प्रदान गरिन लागेको हो।
द जेरुसेलम पोस्ट र वाईनेट न्युजका अनुसार राष्ट्रपति हर्जाेगले सोमबार इजरायली संसद् ‘नेसेट’मा सम्बोधन गर्दै ट्रम्पलाई सम्मानबारे औपचारिक जानकारी दिनेछन्। सोही दिन ट्रम्पले पनि इजरायली संसद्लाई सम्बोधन गर्ने अपेक्षा गरिएको छ।