आज जनैपूर्णिमा मनाइँदै
हरेक वर्ष श्रावण शुक्ल पूर्णिमामा मनाइने जनैपूर्णिमा अर्थात् ऋषि तर्पणी आज यज्ञोपवीत धारण गरेर, रक्षा बन्धन बाँधेर र क्वाँटी खाएर मनाइँदै छ ।
काठमाडौँको पशुपतिनाथ सहित देशभरका मन्दिरहरूमा आज जनै लगाउने र रक्षासूत्र बाँध्नका लागि भक्तजनहरूको भीड लागेको छ । आजकै दिन दिदीबहिनीले आफ्ना दाजुभाइलाई दीर्घायुको कामना गर्दै राखी बाँधिदिने र दाजुभाइले दिदीबहिनीलाई दक्षिणा दिने चलन छ ।
आजको दिन वैदिक सत्य सनातन हिन्दु धर्मावलम्बीहरूले नदी, तलाउ, पोखरी र मन्दिरमा गएर स्नान गरी ब्राह्मण पुरोहितसँग रक्षासूत्र बाँध्ने र वैदिक मन्त्रोशूक्तिले मन्त्रिएका जनै लगाउने चलन छ ।
यसरी वैदिक मन्त्रोच्चारण गरेका जनै र रक्षासूत्र बाँधेमा नकारात्मक प्रभाव नपर्ने विश्वास छ । आजको दिनमा बाँधिएको रक्षासूत्र तिहारमा लक्ष्मी पूजाका दिन खोलेर गाईको पुच्छरमा बाँधे मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास रही आएको छ ।