मोटरसाइकलमा सवार युवकमाथि बौद्धमा खुकुरी प्रहार
मोटरसाइकलमा हिँडिरहेकै अवस्थामा काठमाडौँको बौद्धमा एक युवकमाथि खुकुरी प्रहार भएको छ ।
साउन १२ गते राति करिब १० बजे गोकर्णेश्वर नगरपालिका–५ बाहुनधारामा भएको उक्त घटनामा काभ्रेको रोशी गाउँपालिका–१० घर भई नयाँ बस्ती बस्ने २९ वर्षीय जित मोक्तान घाइते भएका छन् । उनको दायाँ हातको पाखुरा र ढाडमा गहिरो चोट लागेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुलदीप चन्दका अनुसार उनीमाथि ज्यान मार्ने उद्देश्यले खुकुरी प्रहार भएको हो । सुरुमा अशोक लामाले खुकुरी प्रहार गरेको भनिए पनि अनुसन्धानका क्रममा सिन्धुपाल्चोक, मेलम्ची नगरपालिका–४ घर भई गोकर्णेश्वर–५ नारायणटार बस्ने २५ वर्षीय लोप्साङ तामाङ घटनामा संलग्न रहेको खुलेको प्रहरी स्रोतले बताएको छ । हाल उनी फरार छन् र उनको खोजी तीव्र पारिएको एसपी चन्दले जानकारी दिए ।
प्रहरीका अनुसार यो घटना पुरानो रिसिइबीका कारण भएको हो । केही समयअघि लोप्साङका बुवालाई जित मोक्तानको पक्षले आक्रमण गरेको थियो । सोही आक्रमणको बदला लिन लोप्साङले जितमाथि खुकुरी प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । उनीहरूबिच जुवा खेल्दा पुरानो विवाद भएको भनिएको छ ।
यस घटनापछि अर्को झडप पनि भएको छ । खुकुरी प्रहार भएको भोलिपल्ट अर्थात् साउन १३ गते घाइते जित मोक्तानका पक्षधरले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–४ घर भई नारायणटार बस्ने ५३ वर्षीय अशोक तामाङलाई आक्रमण गरी घाइते बनाए । घाइते अशोकको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
यसैबिच आरोपी लोप्साङको खोजी गर्ने क्रममा प्रहरीमाथि नै हातपात भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका इन्स्पेक्टर वाङ्गेल लामा नेतृत्वको टोली साउन १३ मा नारायणटारस्थित एउटा घरमा खानतलासी गर्न जाँदा प्रहरीलाई अवरोध पुर्याएको र हातपात गरेको आरोपमा सिन्धुपाल्चोक, पाँचपोखरी गाउँपालिका–३ की ३७ वर्षीया मीना स्याङ्बोलाई पक्राउ गरिएको छ ।
खुकुरी प्रहारबाट घाइते भएका जित मोक्तानको भने ललितपुरस्थित बीएन्डीबी अस्पतालमा उपचार भइरहेको छ ।