ब्राजिलका पूर्व राष्ट्रपतिविरुद्ध अभियोग दर्ता
ब्राजिलका पूर्व राष्ट्रपति येर बोल्सोनारोविरुद्ध अभियोग दर्ता गरिएको छ । २०२२ को राष्ट्रपति निर्वाचनमा हारेपछि कूको प्रयास गरेको भन्दै प्रमुख अभियोजनले उनीविरुद्ध अभियोग लगाइएका हुन् ।
राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भालाई सत्ताच्यूत गर्न खोजेको मामिलामा ६९ वर्षका बोल्सोनारोविरुद्ध पाँच वटा अभियोग दर्ता गरिएको छ । अभियोग चलाउने कि नचलाउने भनेर सर्वोच्च अदालतले फैसला सुनाउनेछ । अभियोग चलाइने भयो भने बोल्सोनारो र अरू ३३ जनामाथि औपचारिक रूपमै अभियोग सुरु हुनेछ ।
यस मामिलामा बोल्सोनारोले भने आफूले कुनै पनि नराम्रो काम नगरेको भनिरहेका छन् । आफूलाई राजनीतिक उत्पीडनको बन्दी मात्रै बनाइएको उनको तर्क छ । २०२२ मा भएको राष्ट्रपति निर्वाचनमा झिनो मतान्तरले लुलाले जितेका थिए । बोल्सोनारोले सार्वजनिक रूपमा आफ्नो हार स्विकारेनन् ।
लुलाले राष्ट्रपतिको शपथ ग्रहण गर्नु २ दिन अघि अमेरिका हिँडेका थिए । २०२३ को जनवरी ८ मा बोल्सोनारोका समर्थकहरूले राजधानी ब्रसिलियामा सरकारी भवनहरूमा तोडफोड गरेका थिए ।
यस मामिलामा प्रहरीले १ हजार ५०० जनालाई पक्राउ गरेको थियो । तीन महिना अघि सङ्घीय प्रहरीले सार्वजनिक गरेको प्रतिवेदनमा बोल्सोनारोमाथि कूको योजना बनाएको र प्रयास गरेको आरोप लगाइएको थियो ।