चोरीको ब्याट्री र मोटरसहित एक जना पक्राउ
मोरङमा चोरीका सामानसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। रंगेली नगरपालिका-६ लव टोली बस्ने २६ वर्षीय सञ्जय मण्डललाई चोरीको ब्याट्री र मोटरसहित प्रहरीले नियन्त्रणमा लिएको हो।
आइतबार राति रंगेली नगरपालिका-६ थाना टोल बस्ने प्रमोद कुमार साहको घरअगाडि पार्किङ गरी राखिएको मे १ त ३०१२ नम्बरको ट्याक्टरमा जडान गरिएको १०० एम्पियरको लिभगार्ड कम्पनीको १ थान ब्याट्री चोरी भएको थियो।
साथै सोही वडाको संसारी मन्दिरभित्र कलमा जडान गरिएको सिन्धु लेखिएको १ इन्चको २ थान मोटरसमेत चोरी भएको खबर इलाका प्रहरी कार्यालय रंगेलीमा प्राप्त भएको थियो।
मौखिक जानकारी पाउनासाथ प्रहरी चौकी बेतौनाबाट खटिएको प्रहरी टोलीले चेकजाँच तथा अनुसन्धान सुरु गरेको थियो। खोजतलासका क्रममा धनपालथान गाउँपालिका-३ बेतौना चोकबाट मण्डललाई सेतो रङको बोरामा उक्त चोरीका सामान काँधमा बोकेर हिँडिरहेको अवस्थामा फेला पारी पक्राउ गरिएको हो। मण्डललाई इलाका प्रहरी कार्यालय रंगेलीमा राखेर थप अनुसन्धान भइरहेको छ।