प्रसिद्ध उद्योगपति रतन टाटाको निधन
भारतका प्रसिद्ध उद्योगपति रतन टाटाको बुधबार राति मुम्बईको एक अस्पतालमा निधन भएको छ । टाटा सन्सका अध्यक्ष एन. चन्द्रशेखरनले टाटा समूहको तर्फबाट एक विज्ञप्ति जारी गर्दै रतन टाटाको ८६ वर्षको उमेरमा निधन भएको पुष्टि गरेका छन्।
उनलाई मुम्बईको ब्रीच क्यान्डी अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा भर्ना गरिएको थियो। उनी उमेरसँग सम्बन्धित रोगबाट पीडित थिए ।
राति करिब २ बजे उनको शव अस्पतालबाट घर ल्याइएको थियो । महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देले टाटाको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने बताएका छन्।
टाटाको पार्थिव शरीरलाई बिहीबार बिहान १० बजेदेखि ४ बजेसम्म दक्षिण मुम्बईको नेशनल सेन्टर फर पर्फर्मिङ आर्ट्सको हलमा राखिने उनका आफन्तले बताएका छन् ।
उनको निधनमा राष्ट्रपति, प्रधानमन्त्रीलगायत देशका धेरै दिग्गजहरुले दुःख व्यक्त गरेका छन् । राष्ट्रपति द्रौपदी मुर्मुले ट्वीटरमा रतन टाटाको निधनले भारतले कर्पोरेट वृद्धिलाई राष्ट्र निर्माण र उत्कृष्टतालाई नैतिकतासँग जोड्ने प्रतीक गुमाएको लेखेकी छिन् ।
रतन टाटाको जन्म २८ डिसेम्बर १९३७ मा भएको थियो । उनले ९ अक्टोबर २०२४ मा अन्तिम श्वास फेरे । भारत सरकारले रतन टाटालाई पद्मविभूषणबाट सम्मानित गरेको छ ।